समाचार

थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स

विश्वभर युवापुस्ताबीच अत्यधिक लोकप्रिय बनिरहेको एप हो टिकटक । लकडाउनमा त झन् यो एपको प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।

यही चिनियाँ एपमा प्रवेश भएको छ, पूर्व यूवराज्ञी हिमानी शाहको । उनले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ ।

‘गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी हुन् । तीनैजना कालो पोशाकमा सजिएका छन् र एउटै वान्कीमा कम्मर मर्काएका छन् । पूणिर्का साहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घन्टामै भाइरल बनेको छ । हिमानीका पति पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

पूणिर्काले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘यो (डान्स स्टेप) हामीले आमाबाट पाएका हौं । हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ ।’

भिडियोमा पूर्व नवयुवराज हृदयन्द्र भने देखिएका छैनन् ।  यो भिडियोलाई अहिलेसम्म करिब ८ हजारले लाइक गरेका छन् भने करिब ५ सय कमेन्ट आएका छन् । कमेन्टमा सबैले उनीहरुको सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी र उनका तीन छोराछोरी अहिले थाइल्यान्डमा छन् । उच्चशिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनका कारण उतै अड्केकी हुन् । त्यहाँ उनी छोराछोरीसँग रमाइरहेको यो टिकटक भिडियोबाट पनि थाहा हुन्छ ।


सम्बन्धित समाचार